July 25, 2021

Himal News

Nepali News Portal

दाङमा घट्दै कोरोना संक्रमण, खाली हुँदै अस्पतालका बेड

दाङ । दाङमा कुनै बेला ह्वात्तै बढेको कोरोना संक्रमण पछिल्लो समय घट्दै गएको छ । कोरोना संक्रमण घट्दै गएपछि अस्पतालहरुमा बेड खाली हुँदै गएका छन् ।

करिब दुई साताअघिसम्म जिल्लामा कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालमा बेड पाउन मुस्किल हुन्थ्यो । अक्सिजन जुटाउन झन् समस्या थियो । तर, पछिल्लो समय कोरोना संक्रमण दर घटेसँगै अस्पतालहरुमा बेड खाली हुँदै गएका छन् ।

बिरामीको चाप बढ्दै गएपछि बेलझुन्डीस्थित २५ बेडको कोरोना विशेष अस्पतालमा ७० बेडसम्म पुर्‍याइएको थियो । बेड खाली नहुँदा कुनै दिन बिरामीलाई अस्पतालको बरन्डामै राखेर पनि उपचार गरियो । तर, अहिले त्यो अवस्था हटेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले ३९ जना कोरोना संक्रमित रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए ।

कोरोना संक्रमण दर घट्दै गएपछि अस्पतालमा आउने संक्रमितको संख्या समेत घट्दै गएको उनले बताए । “केही समयअघि अस्पतालमा बिरामीलाई बेड पाउन मुस्किल थियो । तर, अहिले अस्पताल आउने बिरामी ५० प्रतिशत घटेका छन्,” अस्पतालका व्यवस्थापक वलीले भने, “जसले गर्दा अहिले अस्पतालमा बेडहरुसमेत खाली हुँदै गएका छन् ।” पछिल्लो समय जिल्लामै संक्रमितको संख्या घट्दै गएको उनको भनाइ छ ।

  घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना आइसोलेसन वार्डमा पनि बिरामीको संख्या घट्दै गएको छ । जिल्लामा कोरोना संक्रमण दर घटेसँगै अस्पतालमा भर्ना हुने संक्रमितको संख्या समेत घटेको प्रतिष्ठानका राजेन्द्र न्यौपानेले बताए । कोरोना संक्रमितको उपचारका लागि ५० बेड रहेकोमा अहिले अस्पतालमा १७ संक्रमित उपचारत रहेको उनले जानकारी दिए ।

“केही समयअघि बिरामीलाई राख्नै मुस्किल हुन्थ्यो । तर, अहिले त्यस्तो छैन,” उनले भने, “अहिले त अधिकांश बेड खाली नै छन् ।’ उनले अस्पतालमा अहिले दैनिक ५० देखि १५० सम्मको कोरोना परीक्षण हुने गरेको बताए ।

त्यस्तै, देउखुरीको लमहीमा रहेको देउखुरी कोरोना विशेष आइसोलेसनमा समेत कोरोना संक्रमितको संख्या घट्दै गएको छ । २५ बेडको आइसोलेसन सेन्टरमा अहिले १७ कोरोना संक्रमितको उपचार भइरहेको जनाइएको छ ।

त्यस्तै, शान्तिनगर गाउँपालिकामा रहेको कोरोना विशेष आइसोलेसनमा अहिले दुई संक्रमितहरु रहेको शान्तिनगर गाउँपालिकाले जनाएको छ । २० बेडको आइसोलेसनमा अहिले दुईजना संक्रमितहरुलाई राखेर उपचार भइरहेको शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकाको अश्वारामा रहेको मेट्रो कोरोना विशेष आइसोलेसन सेन्टरमा समेत कोरोना संक्रमतिको संख्या घट्दै गएको अस्पतालले जनाएको छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्