लक्ष्मण बस्नेत
११ असार दाङ
सँधै झैँ
यस पटक पनि
बेला नपुग्दै दशैं आयो ।
फेरी हुनेले देखाए
नहुनेहरुलाई
कतै चामलको कुहिएको कनिका,
थोत्त्रिएको गोदाममा राखेको
दालको सानो गेडो,
बोतलको बिर्काेमा तेल,
झुम्रो लागेको खुर्सानी,
सिलेसो लागेको बेसार
साल्ट ट्रेडिङमा
बर्षाै देखि थन्किएको नुन ।।
हो हामीलाई
दैनिक छाक टार्न
काम चाहिएको छ
रोजी रोटी गर्ने
सुनौलो अवसर चाहिएको छ ।
हामीलाई एकनास
हरेक दिन काम गर्ने
सुनौलो र सुन्दर अनि शान्त
वातावरण चाहिएको छ ।
न की तपाईको
चामलको कनिका,
थोत्त्रिएको गोदामको दाल
एक बिर्काे तेल,
खुर्सानी, बेसार या नुन नै ।
तर तपाईलाई सजिलो त्यही लाग्छ की
अर्काको देशको जुठो दाना,
ल्याएर आफ्ना सोझा नागरीकमा
कुखुरालाई चारो छरे जस्तै,
घाममा सुकाएको विस्कुन
चराले छरे जस्तै छर्न ।।
बिदेशी दलालको पुच्छर तपाई
किन स्वदेशमा उद्योग खोल्नु होला,
रोजगारीको सिर्जना,
कामको अवसर,
थोत्त्रिएका जुट मिल,
चुरोट मिल, सिमेन्ट फ्याक्ट्री,
कृषि औजार निर्माण गर्ने
त्यो कारखाना
जस्ले हजारौ नेपालीसहित
विदेशीले रोजीरोटी चलाएका थिए ।
आफ्नो परिवारको सुनौलो भविष्य
त्यही काममा, धन्दामा,
त्यही कलकारखानामा देखेका थिए ।
सँधै चुनावी नारामा
मजदुरका व्यथाहरु राखौ,
आम नागरिकका पिडाहरुलाई
बेरोजगारका समस्याहरुलाई,
बाटोमा हिलाम्मे भएका
ती कपाल सेतै फुलेका
बटुवाको पिडालाई,
अस्पताल त के
सिटामोल किन्न नसक्ने,
पानी चुहिने फुसको छानो मुनी
थोत्त्रिएको कोठामा
ढुङ्गाले अडाएको खाटमा
पल्टिएका बालाई
अस्पतालको सैयामा उपचार गर्ने
सपना देखायौ ।
समय ले कोल्टो फेर्यो
कोरोनाले विश्व थिलो थिलो भयो ।
देशहरु त्राही त्राही बने,
नागरीकहरु घरको बन्द पर्खालमा बसे,
घरभित्रको
धनसारमा भएको धान,
दालको गेडो,
नुन, तेल, बेसार,
के के हो के के ?
सबै सकियो ।
सरकारसँग नचाहेर पनि
राहत थापियो,
त्यही राहतमा भ्रष्टाचार भयो,
हुने खानेहरुलाई
सजिलो भयो,
नेताहरुलाई कमिसन भयो,
फैरी सँधै झैँ
यस पटक पनि
बेला नपुग्दै दशैं आयो ।।
सम्बन्धीत समाचार
निता आचार्यको “भाग्य मेरो” सार्वजनिक
बालबालिकाको भविष्य र अभिभावकको भुमिका
प्रबिन र निर्मलाको “नहासी नबोली”